Saturday, January 29, 2011

म अहिलेको योजना आयोगको कामै देख्दिन

जनार्दन बरालसँगको अन्तरवार्तामा प्रा.डा. पिताम्बर शर्मा
- प्राडा पीताम्बर शर्मा 
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग

संविधानसभाको निर्वाचनपछि एनेकपा (माओवादी)को सरकार बन्नेबित्तिकै प्राडा. पिताम्बर शर्मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । देशको पुनःसंरचना गर्ने प्रक्रिया थालनी हुने क्रममा भूगर्भशास्त्री एवम् प्रखर विश्लेषक शर्मालाई योजना आयोगको उपाध्यक्ष बनाइनुलाईत्यतिबेला अर्थपूर्ण रूपमा हेरिएको थियो । तर, योजना आयोगले पूर्णता पाउनुअघि नै शर्माले उपाध्यक्ष पदबाट राजीनामा दिए । सङ्घीयता र राज्य पुनःसंरचनाको बहस तीव्र बनिरहेका बेला योजना आयोगको भूमिकाका बारेमा केन्द्रित रहेर आर्थिक अभियान दैनिकका जनार्दन बरालले शर्मासँग गरेको कुराकानीः


नेपालको विकासका लागि राष्ट्रिय योजना आयोगको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

योजना आयोग एउटा 'प्रोबलम चाइल्ड' हो । यो नभएर पनि हुँदैन । भएर पनि जुन प्रयोजनका लागि योजना आयोगको स्थापना भएको थियो, त्यसको परिपूर्तिका लागि यसले भूमिका निर्वाह गर्न सकेको छैन । अहिले योजना आयोग जुन रूपमा छ, त्यसको त म कामै देख्दिनँ । किनभने योजना आयोग न आफैं योजनाबद्ध छ, न ऊसँग दीर्घकालीन विकासको कुनै खाका नै छ । योजना आयोगसँग अनुगमन तथा मूल्याङ्कन गर्ने, नीतिगत आधारहरू निर्माण गर्ने र त्यसका लागि आवश्यक अनुसन्धान गर्ने क्षमता पनि छैन । त्यसैले अहिलेको स्थितिमा मैले योजना आयोगको उपादेयता देखेको छैन । योजना आयोग हामीलाई चाहिन्छ, तर त्यसलाई राख्ने हो भने पूर्ण व्यावसयिक बनाउनुपर्छ । अहिले त योजना आयोग अर्थ मन्त्रालयको एउटा महाशाखाका रूपमा मात्रै कार्यरत छ भन्ने ठान्छु म ।

सङ्घीय नेपालमा योजना आयोगको भूमिका कस्तो हुनुपर्छ ?

सङ्घीयतामा जाँदा योजना आयोगको भूमिका अझ महत्त्वपूर्ण हुन्छ ।  सङ्घीयतामा स्रोतसाधनको बाँडफाँटको विषयलाई मिलाउनुपर्ने हुन्छ । सबै सङ्घीय इकाइहरूमा विकासको दिशा तथा गति समानरूपले लैजानुपर्ने हुन्छ । त्यो स्थितिमा योजना आयोगको भूमिका अझ बढी महत्त्वपूर्ण हुन्छ । त्यतिबेला  केन्द्रीय योजना आयोगले समन्वयकारी भूमिका खेल्नुपर्छ । प्रत्येक सङ्घीय इकाइमा योजनाका अलगअलग संयन्त्र हुन्छन्, तिनलाई मार्गनिर्देशन गर्ने कार्य योजना आयोगले गर्नुपर्छ । विकासको बृहत् रणनीति निर्माण गर्ने र त्यसैका आधारमा सङ्घीय एकाइहरूलाई चलाउने काम योजना आयोगले गर्नुपर्ने हुन्छ । तर, त्यो भूमिका निर्वाह गर्नका लागि योजना आयोगको वर्तमान संरचना विल्कुलै पर्याप्त छैन । त्यसका निम्ति पनि तत्कालै योजना आयोगको पुनःसंरचना हुनु आवश्यक छ । सङ्घीयतामा जानुअघि नै गतिलो र दीर्घकालीन सोच लिएर योजना आयोगको पुनःसंरचना गरिएन भने हामी ठूलो भड्खालामा पर्नसक्छौं ।

सङ्घीयतामा योजनाको स्वरूप कस्तो हुनुपर्छ ?

सङ्घीयताका तीन औचित्य छन्- पहिलो पहिचान, दोस्रो- शक्तिको निक्षेपीकरण र तेस्रो समावेशी र द्रूत विकास हो । समतामूलक र समविकासका लागि सङ्घीयता आवश्यक छ भन्ने मेरो मान्यता हो । पहिचान मात्रै सबैथोक होइन, भोलि पहिचानले पनि खोज्ने विकास नै हो । विकासको प्रतिफल सबैले समान रूपले नपाएका कारण अहिले पहिचानको कुरा आएको हो । अहिले जातीय आधारमा राज्य बनाइयो भने पनि समस्या टुङिगदैन तिनले जनतालाई सुविधा दिन त स्रोतसाधन चाहिन्छ, विकासको रणनीति नै चाहिन्छ । त्यसैले पहिचानका साथसाथै सामर्थ्यको कुरा पनि महत्त्वपूर्ण छ  ।

दोस्रो- हामी सङ्घीयतामा जाने भनेको विकासको बृहत् रणनीतिलाई कार्यान्वयन गर्न सजिलो होस् भनेर हो । सङ्घीय इकाइहरू आर्थिक विकास र योजनाका इकाइ पनि हुनसके विकास समन्वयात्मक रूपले अघि बढ्नसक्छ । प्रदेशहरूमा स्रोतसाधनको जुन रूपमा उपलब्धता छ, त्यसैका आधारमा उनीहरूले विकासको बृहत् रणनीति बनाएर योजनाहरू कार्यान्वयन गर्न सक्छन् । यो कुरा हिजो एकात्मक राज्य हुँदा सम्भव भएन । भोलि सङ्घीय संरचनामा जाँदा पनि विकासका लागि दातृनिकायमा भर पर्ने हो भने अहिलेको अवस्थामा कुनै तात्विक परिवर्तन गर्न सकिँदैन । अहिलेसम्मको हाम्रो विकासको सबभन्दा ठूलो समस्या भनेको आफ्नो स्रोत र साधनको समुचित प्रयोग नहुनु हो । अबका दिनमा आफ्ना स्रोत र साधनको प्रयोग हुने वातावरण सिर्जना हुनुपर्यो । अब संघीयतामा जाने प्रक्रियाले नै योजनाबद्ध विकासलाई सहयोग गर्नुपर्यो ।

नेपालजस्तो देशका लागि सङ्घीयताभन्दा विकेन्द्रीकरण उपयुक्त छ भन्ने कुरा पनि उठेका छन् नि ?

सङ्घीयतामा जाने कि नजाने भन्ने विवाद छ जस्तो मलाई लाग्दैन । नेपालको प्रशासन, राजनीति र विकासको इतिहास हेर्ने हो भने त्यो असाध्यै केन्द्रीकृत, सामन्ती र एकात्मक भयो । आर्थिक, सामाजिक, राजनीतिक, सामरिक सबै शक्तिको केन्द्र काठमाडौं भयो । यसो हुँदा नेपाल दुइओटा भए- एउटा पहुँचवालाको नेपाल (काठमाडौं र वरिपरि) र अर्को मोफसलको नेपाल । नेपालको विकासको सबभन्दा ठूलो समस्या यही द्वैधता हो । यस्तो स्थितिलाई नहटाइकन नेपालको विकास सम्भव छैन ।

पञ्चायतमा पनि यो द्वैधतालाई हटाउने विषयमा सोचिएको थियो । चौथो आवधिक योजनामा डा. हर्क गुरुङको अगुवाइमा प्रादेशिक विकासको रणनीति आयो । त्यो प्रादेशिक रणनीतिको मूल भाव पनि विकासलाई विकेन्द्रित गर्ने नै थियो । त्यहीअनुसार पाँचवटा विकासक्षेत्रको परिकल्पना गरियो । प्रादेशिक विकासको रणनीतिले विकेन्द्रीकरणलाई जुन रूपमा छोएको थियो, त्यसलाई व्यवहारमा उतार्न सकिएन । पञ्चायतको अत्यन्तै केन्द्रीकृत सामन्ती सत्ताअन्तर्गत विकेन्द्रीकरण हुने सम्भावना नै थिएन । २०४६ सालपछि पनि विकेन्द्रीकरण गर्ने, शक्ति निक्षेपण गर्ने भन्ने धेरै योजना आए । तर, ती कुनै पनि योजनालाई कार्यान्वयन गर्न सकिएन । किनभने ती योजनालाई कार्यान्वयन गर्ने राजनीतिक खाका बनेन । सङ्घीयताले त्यो खाका दिन्छ । सङ्घीयताले शक्ति विकेन्द्रीकरण गर्ने अवस्थाको निर्माण गर्छ । यो व्यवस्था शक्तिको उद्भवकर्ता जनताको नजिक पुग्छ । त्यसैले सङ्घीयतासँग डराउनुपर्ने कुनै कारण छैन । लोकतन्त्रलाई सुदृढ बनाउन, योजनाबद्ध विकासलाई समावेशी र द्रूत बनाउन, शक्ति निक्षेपणको माध्यम बनाउन सङ्घीयता आवश्यक छ । हामी त्यस किसिमको सङ्घीयताको मोडलमा जाऊँ, जसले विकेन्द्रीकरणलाई प्रभावकारी कार्यान्वयन गर्न सघाओस् ।

तपाईंले भनेजस्तै हामीले विकेन्द्रीकरणलाई कार्यान्वयन गर्नेतर्फइमानदार रूपमा अघि बढेको भए हुन्थ्यो होला । त्यो हुन पनि अनुकूलको अवस्था निर्माण हुनुपर्यो नि । अहिलेसम्मको हाम्रो आर्थिक-सामाजिक-राजनीतिक इतिहासले के देखायो भने एकात्मक राज्यमा विकेन्द्रीकरणलाई प्रभावकारी बनाउने अवस्थाको निर्माण हुनै सक्दैन । अरू त अरू विगतमा राजनीतिसमेत विकेन्द्रित भइदिएन । अब सङ्घीयताअर्न्तर्गत राजनीतिलाई विकेन्द्रित गर्ने अवसर प्राप्त हुन्छ । केन्द्रबाहिरका भूभागसमेत समेटेर आर्थिक विकासको रणनीति निर्माण गर्नुपर्ने अवस्थाको निर्माण हुन्छ । जति सङ्घीय इकाइ बन्छन्, तिनको स्रोत र साधनको अवस्थालाई विचार गरेर विकासका कार्यक्रम बनाउने र ती कार्यक्रमहरू राष्ट्रिय विकासको वृहत् रणनीतिसँग सापेक्ष भएर जाने अवस्थाको निर्माण गर्छ ।

नेपालमा अहिले नयाँ राष्ट्रियताको विकास आवश्यक छ । पञ्चायतका पालामा 'हाम्रो राजा, हाम्रो देश, एउटै भाषा, एउटै भेष' भन्ने नै राष्ट्रियताको आधार थियो । त्यसबाट फुत्केर अव देशका विभिन्न जातजाति र भाषाभाषीको समष्टि रूप नेपाल हो भन्ने किसिमको राष्ट्रियताको विकास जरुरी छ । अब पहिलेको 'नेशन स्टेट' होइन, एउटै राज्यभित्र धेरै राष्ट्र (नेशनालिटिज) बसेर अघि बढ्नसक्ने अवस्थाको निर्माण हामीले गर्नुपर्छ । सङ्घीयताले देशलाई टुक्रयाउँछ, झगडाको बीउ सिर्जना गर्छ भन्ने रूपमा मात्र हामीले बुझयौँ । अब त्यसरी मात्र होइन, सङ्घीयताले प्रत्येकको पहिचान बोकेर नयाँ राष्ट्रको निर्माण गर्छ भन्ने बुझौं । सङ्घीयतामा जानु भनेको नेपाललाई पुनःपरिकल्पना, पुनःआविस्कार र पुनःपरिभाषित गर्नु पनि हो । यो ऐतिहासिक अवसर हो । सङ्घीयता र राज्य पुनःसंरचनाको मुद्दालाई गहिरोसँग सोचेर जान सक्यौं भने हाम्रा ऐतिहासिक समस्याको समाधान गर्न निकै हदसम्म सकिन्छ ।

पृथ्वीनारायण शाहले नेपाललाई एउटा राजनीतिक इकाइ बनाए । तर, यसलाई आर्थिक इकाइ बनाउन सकिएन । एउटै सामाजिक इकाइका रूपमा यो 'प्रोजेक्ट' भयो । तर, त्यो 'प्रोजेक्सन' यथार्थमा आधारित थिएन । नेपालका जातजाति र भाषाभाषीलाई पहिचान गर्ने र तिनको सम्मान गर्ने काम गर्न सङ्घीयता आवश्यक छ ।

सङ्घीयताका दुइ मोडल छन् । तीमध्ये धेरै राज्य मिलेर सङ्घीय राज्य बनेकाहरू सफल भएका र एकात्मक टुक्रयाएर सङ्घ बनेका चाहिँ असफल भएका उदाहरण विश्वमा छन् । नेपाल भोलि त्यही असफलतामा नजाला भन्ने आधार के छ ?

यसमा दोष भाँडोको होइन, प्रयोगकर्ताको हो । अर्को कुरा सङ्घीयताका यी दुइ मोडलभन्दा भिन्न रूपमा हामी जान सक्छौं । हाम्रो अवस्था नै भिन्न किसिमको छ । हामी शक्ति निक्षेपण (डेभोलुसन)को सङ्घीयतामा जान खोजेका हौं । हामीले खोजेको मोडल नितान्त अर्कै हो । हामीले अर्को देशमा यस्तो भन्नु आवश्यक छैन । हामी यसलाई व्यवस्थापन गर्नसक्छौं ।

हामी सङ्घीयतामा जाँदा आर्थिक पुनःसंरचना कसरी गर्नुपर्छ जस्तो लाग्छ तपाईंलाई ?

वित्तीय सङ्घीयताको त्यस्तो मोडलमा हामी नजाऔं, जसले कुनै एउटा सम्पन्न सङ्घीय इकाइमा मात्र पुँजी, शीप, प्रविधि केन्द्रित होस् । सम्पन्न प्रदेशमा विकास केन्द्रित हुने तथा पूर्वाधार, पूँजी, प्रविधि नभएको प्रदेश सधै पछि पर्ने स्थिति आउने ठूलो सम्भावना छ । केन्द्रीय तहले विकासको बृहत् रणनीति निर्धारण गर्ने र त्यसअर्न्तर्गत सङ्घीय इकाइहरूको योजना बन्ने संरचना बन्नुपर्छ । यस्तोमा योजना आयोगजस्ता निकायको भूमिका झन् महत्त्वपूर्ण हुनुपर्छ ।

नेपालको राजनीतिक, सामाजिक र आर्थिक अस्तित्व नै तराई, पहाड र हिमालबीचको आर्थिक अन्तरसम्बन्धमा निर्भर छ । त्यसलाई जति गहकिलो बनाउन सकियो, नेपालको विकासको आधार उति नै बलियो हुन्छ । यो जति फितलो भयो नेपालको आर्थिक-सामाजिक-राजनीतिक आधार उति नै फितलो हुन्छ । त्यसैले प्रत्येक प्रदेशले एकअर्कासँग प्रतिस्पर्धा गर्नुभन्दा पनि उनीहरूको विकास एकअर्काको पूरक हुनुपर्छ । तर्राईमा खाद्यान्नको उत्पादन, कृषिमा आधारित उद्योग र वन्यजन्तुमा आधारित पर्यटनको स्पष्ट सम्भावना छ । यसैगरी प्रत्येक प्रदेशको सम्भावनालाई पहिचान गर्नुपर्छ र प्रत्येक प्रदेशको विकासको रणनीति त्यहीको स्रोत-साधनमा आधारित हुने गरी बनाउनुपर्छ, जसको अन्य प्रदेशसँग प्रतिस्पर्धा नहोस् । तर, यी सबैको केन्द्रीय र बृहत् रणनीति राष्ट्रियस्तरको योजना आयोगले बनाउनुपर्छ । यसो हुन सक्यो भने अहिले भइरहेको विकासको ढाँचा नितान्त फरक भएर जान्छ ।

भोलि वित्तीय र प्राकृतिक स्रोतसाधनका दृष्टिले केही प्रदेश बलियो र केही कमजोर हुने अवस्था प्रष्ट रूपमा देखिन्छ । यस्तो अवस्थामा प्रदेशहरुबीच स्रोतसाधनको बाँडफाँट कसरी गर्नुपर्छ ?

नेपालमा बन्ने भनेका अधिकांश प्रदेशहरूको वित्तीय आधार अत्यन्तै कमजोर हुने देखिन्छ । उदाहरणका लागि नेपालमा पर्वतारोहणबाट आउने सबै पैसा प्रस्तावित शेर्पा प्रदेशलाई दियौं भने पनि त्यसको साधारण खर्च नधान्ने अवस्था छ । अन्य अधिकांश प्रदेशको अवस्था पनि त्यसभन्दा फरक हुने छैन । त्यसैले केन्द्र वित्तीय हिसाबले बलियो हुनुपर्छ । प्रत्येक सङ्घीय प्रदेशको राजस्वको कम्तीमा पनि ५०-५५ प्रतिशत हिस्सा केन्द्रमा आउनुपर्छ । यससम्बन्धी व्यवस्था संविधानले नै निश्चित गर्नुपर्छ । केन्द्रले प्रदेशको स्रोत-साधन तथा क्षमता हेरेर वित्तीय विनियोजन गर्नुपर्छ ।

प्रदेशहरुबीचको वित्तीय बाँडफाँटमा होस् पुर्याउनुपर्ने हुन्छ । यदि त्यो समस्यालाई अहिल्यै सम्बोधन गरिएन भने अविकसित प्रदेश अझ अविकसित हुने अवस्था आउँछ । प्रत्येक प्रदेशको आफ्नो महत्त्वपूर्ण स्रोतसाधनलाई त्यसको विकासको रणनीतिसँग जोडेर जान सकियो भने त्यो दिगो हुन्छ, सकिएन भने हुँदैन ।

वैदेशिक सहयोगलाई कसरी उपयोग गर्नुपर्ला ?

विकासको बृहत् रणनीतिअर्न्तर्गत वैदेशिक सहयोग केन्द्रले लिने र प्रदेशहरूमा परिचालन गर्ने गर्नुपर्छ । वैदेशिक सहयोगले प्रादेशिक विकासको रणनीतिलाई सहयोग गर्नुपर्छ । यसो भयो भने वैदेशिक सहयोगको प्रयोगलाई प्रभावकारी बनाउन सकिन्छ ।

नेपालका आवधिक विकास योजनाहरु सफल हुन नसक्नुमा केके कमजोरी रहेजस्तो लाग्छ तपाईंलाई ?

यसमा दुइ किसिमका कमजोरी रहे- प्राविधिक र राजनीतिक । राजनीतिक कमजोरी भनेको अस्थिर राजनीतिले स्थिर विकास दिन सकेन । अर्को कुनै पनि राजनीतिक दलहरूले विकासको रणनीतिलाई स्पष्ट र जनताप्रति उत्तरदायी हुने गरी अगाडि ल्याएनन् । राजनीतिक दलबीचको प्रतिस्पर्धा त देश बनाउन हुनुपर्ने हो नि । त्यो प्रतिस्पर्धाको आधार विकास रणनीति हुनुपर्ने हो । तर, कुनै पनि राजनीतिक दलमा आर्थिक योजना र रणनीतिगत स्पष्टता देखिएन ।

प्राविधिक तहमा राष्ट्रिय योजना आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन । योजना आयोगका दुइ- तीनओटा मुख्य काम हुन् । पहिलो- राष्ट्रिय योजना आयोग सरकारको प्रमुख विकास सल्लाहकार हो । यो जिम्मेवारी आयोगले राम्रोसँग निर्वाह गर्न सकेन । दोस्रो- यो योजना निर्माण गर्ने निकाय हो । योजना तथ्यमा आधारित हुनुपर्छ, अध्ययनमा आधारित हुनुपर्छ । त्यसका लागि योजना बनाउने निकायमा त्यही किसिमको विज्ञता आवश्यक हुन्छ । संस्थागत रूपमा त्यस किसिमको विज्ञता योजना आयोगले प्रदर्शन गर्न सकेको छैन ।

योजना आयोगको सबैभन्दा महत्त्वपूर्ण काम अनुगमन र समन्वयको भूमिका हो । विकास योजना प्रत्येक मन्त्रालयले बनाउँछन् । ती योजनाहरूको समष्टि मात्रै राष्ट्रिय योजना होइन । एउटा मन्त्रालयले बनाएको विकास योजनासँग अर्कोले बनाएकोसँग समायोजन गर्ने, समन्वय गर्ने भूमिका योजना आयोगले निर्वाह गर्नुपथ्र्यो । यसो हुन सक्दा योजनाको समष्टि प्रतिफल बढी हुनसक्थ्यो । तर, योजना आयोगले त्यो पनि गर्न सकेको छैन । अनुगमनमा त योजना आयोगको भूमिका अत्यन्त फितलो छ ।

विकास योजना असफल हुनुमा सबैभन्दा ठूलो कारण प्रमाणमा आधारित नीतिहरू नबन्नु हो । यहाँ त सनकमा आधारित नीतिहरू बने । खास व्यक्ति, राजनीतिक दल तथा दाताहरूका सनकमा योजना बनाउने काम भयो । त्यसो हुँदा योजनाबद्ध विकासको थालनी भएको ५०-६० वर्षहुँदा पनि एउटा गतिलो बाटो समात्न सकिएन ।

दातृ निकायहरुको यसमा दोष छैन ?

योजनाहरू सफल नुहुनुमा दातृसंस्थाहरूको पनि कम दोष छैन । विकासका क्षेत्रमा दातृसंस्थाले जतातिर डोर्यायो, त्यतै जाने स्थिति भयो । हामीले आफ्नो विकासको बाटो खोजेनौं । आफ्नो बाटो हामीले अर्काको माध्यमबाट खोज्यौं । आफैंले बाटो खोजेको भए गल्ती पनि आफैंले गर्थ्यौं र पाठ पनि आफैं सिक्थ्यौं । आफ्नो बाटो नभएकाले गल्तीबाट पाठ पनि सिकेनौं । सिकिदिएको मात्रै भए पनि धेरै हुन्थ्यो । अर्को प्रत्येक योजनालाई विकल्परहित (जिरो अप्सन) ठान्ने गल्ती पनि भयो ।  हामी योजना ठूला गर्ने तर काम नगर्ने भयौं ।

यो ५०-६० वर्षमा नेपालले कतिपय पक्षमा उदाहरणीय प्रगति पनि गरेको छ । १९५२-५४ मा देशमा दुइ-अढाइ सय किलोमिटर पनि सडक थिएन, अहिले झण्डै २० हजार किलोमिटर छ । अहिले ९४ प्रतिशत बच्चाहरू स्कूल गइरहेका छन् । शिक्षा तथा स्वास्थ्यमा ठूलो प्रगति भएको छ । जनतामा चेतना बृहत् रूपले बढेको छ । तर, प्रगति जति सारपूर्ण हुनुपथ्र्यो, त्यो भएको छैन । विशेषगरी नवौं योजनादेखि नेपालमा केही क्षेत्रमा एकदमै निराशाजनक अवस्था आएको छ । जस्तो ऊर्जा विकासमा एकदमै थोरै काम भएको छ ।

योजना आयोगमा त्यति धेरै काम गर्नुपर्ने रहेछ, तर तपाईंले त योजना आयोगमा गएर पनि केही नगरी फर्किनुभयो नि ?

म योजना आयोगको पुनःसंरचना गर्न सकिन्छ भनेर त्यहाँ गएको थिएँ । योजना आयोगलाई व्यावसायिक बनाउने र यसलाई 'थिङ्कटयाङ्क'को रूपमा विकसित गराउने अवसर छ भन्ने कुराले मलाई आकर्षित गरेको थियो । यत्रो ठूलो राजनीतिक-सामाजिक-आर्थिक परिवर्तन हुन लागिरहेको बेला योजना आयोगलाई पनि पुनःसंरचना गर्न मैले नेतृत्व गर्नसक्छु भन्ने लागेको थियो । त्यहाँ २-३ महीना बसेपछि त्यो हुने अवस्था देखिनँ । पुनःसंरचनाका निम्ति जुन संरचना चाहिन्थ्यो, त्यसको पूर्वाधार बन्ने अवस्था देखिनँ । त्यसमा म विश्वस्त हुनै सकिनँ । त्यो हुने अवस्था नदेखेपछि म बसिरहनुभन्दा मभन्दा कोही योग्य मान्छे आउला भनेर छोडिदिएको हुँ ।


आर्थिक अभियान
आइतवार, १६ माघ २०६७
http://abhiyan.com.np/article-interview_16_magh

Tuesday, January 25, 2011

वातावरण र वातावरणीय मुद्दाहरु

-जनार्दन बराल

समकालीन समयमा वातावरणका सम्बन्धमा विश्वमा धेरै चर्चापरिचर्चा हुने गरेको छ । वास्तवमा हाल विश्वका मानिसहरु वातावरणका सम्बन्धमा चिन्ता जाहेर गरिरहेका छन् । हालै डेनमार्कको राजधानी कोपनहेगनमा जलवायु परिवर्तनको विश्व सम्मेलन सकिएको छ नाम जे भए पनि यस सम्मेसनको केन्द्रीय सरोकार वातावरण नै हो वाताावरणीय विनासबाट जलवायुमा परेको प्रभाव नै हो । त्यसकारण आजको विश्वमा वातावरण एउटा जल्दोबल्दो विषय बनेर आएको छ ।
हामी जुन संसारमा बसेका छौं र हाम्रो वरिपरि जुन परिदृष्यहरु छन् साधारण बुझाइमा त्यही नै वातावरण हो । जतिसुकै किताबका पाना पल्टाए पनि र जतिसुकै दर्शनका ठेली चहारे पनि आधारभूत रुपमा वातावरणका सम्बन्धमा यसभन्दा फरक अवधारणा आउँदैन । तर हामीले साधारण रुपमा जे बुझ्ने गरेका छौं त्यसभन्दा बृहद् आयाम वातावरणले समेट्ने गर्दछ । 

वातावरणको अवधारणा
वातु र आवरणु दुई शब्द मिलेर वातावरण बनेको छ । वात शब्दको अर्थ वायु हो भने आवरण शब्दले माथिबाट छोप्ने काम वा ढाक्ने प्रकि्रया वा ढकन भन्ने बुझाउँदछ । यसर्थ शाब्दिक रुपमा वायुको आवरण वा ढकनभित्र रहने सम्पूर्ण वस्तुहरु वातावरणभित्र पर्ने कुरा बुझिन्छ ।
वास्तवमा वातावरणभित्र हाम्रो वरपर रहेका सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरु  पर्दछन् । जल जमिन वायु आकाश र प्राणी जीव एवम् वनस्पति आदि सबै नै वातावरणका अङ्ग हुन् ।
वातावरणलाई विभिन्न शास्त्र तथा विद्वान्हरुले भिन्नभिन्न किसिमले परिभाषित गरेका छन् । अक्सफोर्ड डिक्सनरीका अनुसार वातावरण भनेको कुनै ठाउँको अवस्था वा प्रभाव हो जहाँ कुनै व्यक्ति वा सजीव वस्तु बसोबास गर्दछन् वा त्यस ठाउँलाई बसोबासका लागि विकास गर्दछन् अस्ट्रियाली सरकारले वातावरणलाई मानव समाजको सेरोफेरो जसले व्यक्तिगत वा सामुदायिक; समूहगत रुपमा प्रभाव पार्न सक्दछ भनी परिभाषित गरेको छ । उसका अनुसार कुनै सङ्घसंस्था जीवाणु वनस्पति वा प्रणाली रहेको अवस्था समेट्ने सेरोफेरो र त्यसका प्रभावहरु नै वातावरण हो । वातावरणलाई त्यहाँको विद्यमान भौतिक रासायनिक जैविक मानव निर्मित वा प्राकृतिक वस्तुस्थितिहरुले प्रभाव पारेका हुन्छन् । ब्रेकलीको भनाइअनुसार मानव बसोबास गरिरहेको वरिपरिको सेरोफेरो र परिवेश नै वातावरण हो ।
नेपालको वातावरण संरक्षण ऐन २०५३ मा वातावरण भन्नाले ुपारिस्थितिकीय सान्दर्भिक विषयमा प्रभाव पार्नसक्ने अवस्था सेरोफेरो परिवेश वायुमण्डल प्राकृतिक सांस्कृतिक र सामाजिक अवस्था प्राणीहरु आर्थिक एवम् मानवीय कि्रयाकलाप र यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तर्त्रिुया वा सम्बन्धलाई सम्झनुपर्दछ भनी परिभाषित गरिएको छ । अतः विश्वमा हुने वा भइरहेका सम्पूर्ण किसिमका जैविक आर्थिक एवम् मानवीय कि्रयाकलापहरु वातावरणसँग सम्बन्धित छन् ।
वातावरण एक गहन अवधारणा हो । वातावरणको गहनतालाई बुझ्न अनुसन्धानकर्ता एवलसनको भनाइलाई हेरे पुग्छ । उनी भन्छन् ुयी कुनै पनि परिभाषाले वातावरणलाई समेट्न सक्दैन किनकि ब्रह्माण्डमा रहेका कुनै पनि वस्तु अवातावरणीय छैनन्/हुन सक्दैनन् । वातावरण शब्द कति गहन र विशाल छ भने यसलाई परिभाषित गरेर यसको महत्व कम गर्न मिल्दै मिल्दैन ।
वातावरणमा दुई किसिमका वस्तुहरु पाइन्छन् प्राण भएका सजीव र प्राणविहीन निर्जीव । सजीव समूहअन्तर्गत प्राणी तथा वनस्पतिजगत पर्दछ भने निर्जीव समूहअन्तर्गत जमिन पानी आदि पदार्थहरु पर्दछन् । यी दुई वस्तुहरुको अस्तित्व एकअर्कामा निर्भर रहन्छ । हावापानीबिना प्राणी बाँच्न सक्दैन माटोबिना रुखबिरुवा अन्नपात उब्जिन सक्दैन ढुङ्गाबिना माटो बन्दैन आदि ।
सजीव वस्तु पनि दुई किसिमका छन् जनावर र वनस्पति । जनावर पनि दुई किसिमका छन् मांसाहारी र शाकाहारी । वा यसलाई ढाड भएका र नभएकामा पनि वर्गीकरण गर्न सकिन्छ । त्यस्तै वनस्पति पनि फूल फुल्ने र फूल नफुल्ने गरी दुई वर्गमा पर्दछन् । यसरी सजीव वस्तुहरु निर्जीव वस्तुको उपभोग गरी आफ्ना जीवनयापन गर्दछन् । आहारा उत्पादनका हिसाबले जीवहरुलाई परजीवी स्वजीवी र सहजीवी गरी तीन भागमा बाँडिएको छ । जनावर प्रायः सबै परजीवी हुन्छन् । वनस्पति आफ्नो खाना/आहारा आफैं उत्पादन गर्दछन् । त्यसैले तिनीहरु स्वजीवीमा पर्दछन् ।
वर्तमान आधुनिक युगको सन्दर्भमा विश्वमा दुई किसिमका वातावरणहरु पाइन्छन् :

१. प्राकृतिक वातावरण
२. मानवनिर्मत वातावरण/सामाजिक वातावरण

पहिलो प्रकृतिले सृष्टि गरिदिएको वातावरण जसलाई प्राकृतिक वातावरण भनिन्छ । दोस्रो मानव सभ्यताको क्रममा मानवद्वारा निर्मित वातावरण जस्तै- सहर गाउँ सडक मठ मन्दिर पोखरी कलकारखाना । यसलाई अप्राकृतिक वा कृत्रिम वातावरण पनि भनिन्छ । प्राकृतिक वातावरण प्रकृतिले निर्दिष्ट गरेका नीतिनियमबमोजिम चल्दछ । यो सदैव गतिवान् एवम् प्रगतिशील हुन्छ । प्राकृतिक वातावरणमा सजीव र निर्जीव वस्तुबीचको अन्योन्याश्रित सम्बन्ध सदैव सुमधुर रहिरहन्छ । वातावरणमा रहेका यी दुई वस्तु सजीव र निर्जीवबीचको अन्तस्रम्बन्धबाट जीवाणुहरुको जीवनयापन चल्दछ । यससम्बन्धी विषयको ज्ञानलाई पारिस्थितिकी ९भ्अययिनथ भनिन्छ र सजीव र निर्जीव वस्तुको अन्तस्रम्बन्धबाट उत्पन्न परिणाम वा प्रतिफललाई परिस्थितिकीय प्रणाली   भनिन्छ ।

प्राकृतिक स्रोत 
प्राकृतिक स्रोत वातावरणसँग गाँसिएर आउने अवधारणा हो । स्रोत शब्दले पिण्डजन्य/पदार्थजन्य वस्तु जस्तैः माटो पानी हावा वनस्पति आदि जनाउँदछ जुन मानवजीवनका लागि उपयोगी होस् । प्राकृतिक स्रोत भन्नाले वातावरणमा पाइने अर्थात् वातावरणबाट उपलब्ध हुने सम्पूर्ण पदार्थजन्य स्रोत वातावरणको क्षमता र यसबाट प्राप्त हुने सेवाहरुलाई जनाउँदछ । वातावरणमा पाइने यस किसिमका वस्तु एवम् सेवालाई प्राकृतिक सम्पदा पनि भनिन्छ । आर्थिक दृष्टिकोणमा प्राकृतिक स्रोतले सम्पत्ति वा पुँजी जसबाट आम्दानी लिन वा उपभोग्य वस्तु उत्पादन गर्न सकिन्छ भन्ने बुझाउँदछ ।
प्राकृतिक सम्पदालाई दुई भागमा बाँडिएको छ :
१. नवीकरणीय
२. अनवीकरणीय 

जुन स्रोतलाई एकपटक प्रयोग गरिसकेपछि विभिन्न प्रकि्रयाद्वारा पुनः त्यही रुपमा प्राप्त गर्न सकिन्छ त्यस्तो स्रोतलाई नवीकरणीय स्रोत भनिन्छ । नवीकरणीय सम्पदा पुनःउत्पादनद्वारा वृद्धि हुनसक्छन् । उदाहरणका लागि कृषि वन हावा पानी पशुपक्षी र वन्यजन्तु आदि यस किसिमका सम्पदा हुन् । अनवीकरणीय सम्पदा एकपटक मासिएपछि पुनः उत्पादन गर्न सकिन्न । अर्थात् जुन सम्पदा स्वयम् आफैं पुनःउत्पादन हुँदैनन् त्यसलाई अनवीकरणीय सम्पदा भनिन्छ । खनिज धातु कोइला पेट्रोलियम पदार्थ आदि यसका उदाहरण हुन् । 

वातावरणीय सम्पदा र सेवा
वातावरणबाट विभिन्न किसिमका वस्तु उपभोग्य सामग्री  सेवा र सुविधाहरु निरन्तर रुपमा उपलब्ध भइरहन्छन् । यी वस्तु सेवा र सुविधालाई वातावरणविद्हरुले प्रमुख तीन वर्गमा विभाजन गरेका छन् :
१. पदार्थजन्य वा उत्पादनमूलक स्रोत : यसअन्तर्गत प्राकृतिक हिसाबले पैदा भएका वस्तु पुनः प्रयोग गर्न सकिने वा पुनःउत्पादन गर्न सकिने र पुनः प्रयोग गर्न नसकिने स्रोतमा विभाजन गरिएको छ ।
२. जीव एवम् मानवीय विकारको सेचन वा प्रसोधन क्षमता : मानव कि्रयाकलापले जैविक एवम् अजैविक फोहर एवम् विकार वातावरणमा फालिएका हुन्छन् । वातावरणमा रहेका वायुमण्डल नदी समुद्र वन विभिन्न धरातलीय परिस्थितिकीय प्रणालीले मानव कि्रयाकलापबाट फालिएका विकार जस्तै कार्बनडाइअक्साइड फोहोर पानी दिशापिसाब लासलाई प्रशोधन गरी पुनः प्रकृतिलाई नै शुद्ध गरेर फिर्ता गरिदिन्छ । यसरी विकारलाई सेचन वा प्रसोधन गरी प्राकृतिक वातावरण स्वच्छ बनाउने कार्यलाई विकारको सेचन प्रकि्रया भनिन्छ ।
वातावरणले विकारको निश्चित मात्रासम्म त सिचन गरी प्रशोधन गर्न सक्दछ तर वातावरणको क्षमताभन्दा बढी फोहर र विकार फालिएमा यसले थेग्न सक्दैन । फलस्वरुप वातावरणले जति सोस्न सेचन गर्न सक्यो ति पुनः प्रशोधित भएर वा प्रकृतिमा विलन हुन्छन्  र बाँकी विकार वातावरणमा नै त्यसै थुपि्रएर बस्दछन् । यसलाई प्रदूषण भनिन्छ । 

जीवनरक्षा सेवा
वातावरणमा जीवनरक्षा स्वास्थ्य र जीवहरुको विकास र उन्नतिका लागि नभई नहुने तत्व विद्यमान छन् । मानवजीवन वातावरणमा रहेका अनगिन्ती परिस्थितिकीय प्रणालीमा आधारित छ । यी परिस्थितिकीय प्रणालीहरु गतिवान छन् र यिनले वातावरणीय सम्पदालाई निरन्तर रुपमा सन्तुलित राख्न ठूलो भूमिका खेल्दछन् । फलस्वरुप वायुमण्डलमा वायुहरुको बनावट कायम राख्न जैविक विविधता संरक्षण र परिस्थितिकीय प्रणाली स्वचालित राख्न र जलवायु फेरबदल हुनबाट जोगाउन अहम् भूमिका निर्वाह गर्दछ ।  वातावरणका यी सेवाहरु गणना गर्न वा मापन गर्न सकिन्न । यो त केवल अनुभूति मात्र गर्न सकिन्छ । अप्रत्यक्ष रुपमा यसको उपभोग गरिन्छ ।
वातावरणबाट प्राप्त हुने अर्को सेवाअन्तर्गत मनोराजन पनि हो । यो प्रत्यक्ष रुपमा उपभोग गर्न सकिन्छ । वातावरणका अनगिन्ती मनोरम दृश्य विभिन्न किसिमका बोटविरुवा फूल वन्यजन्तु चराचुरुङ्गी आदिबाट मानवले विभिन्न किसिमका अध्ययन-अनुसन्धान गर्न एवम् मनोराजन लिन सक्दछ ।
परापूर्वकालमा सम्पूर्ण विश्वकै वातावरण स्वच्छ तथा सन्तुलित थियो । यसका अङ्गप्रत्यङ्गहरु स्वस्फूर्त रुपमा साचालित थिए अर्थात् प्राकृतिक प्रकि्रयाहरु निरन्तर रुपमा चली नै रहेको थियो । मानिसले प्राकृतिक प्रकि्रयाहरुमा क्रमशः खलल पैदा गर्दै गयो । आफ्नो परिस्कृत मस्तिष्कका कारण मानिस अन्य सबै जीवित तथा निर्जीव वस्तुहरुमा आधिपत्य कायम गरी छोटो अवधिमा नै पृथ्वीलाई आफ्नो काबुमा राख्न सक्षम थियो ।
मानव आफूलाई सभ्य सुसंस्कृत ठान्दछ र सम्मानित भएर बाँच्न चाहन्छ । त्यसैले नयाँनयाँ प्रविधिको प्रयोग गरी प्रकृतिमाथि आधिपत्य जमाउँदा ऊ आफूलाई गौरवशाली ठान्दछ । तर उसले के बिसर्िएको छ भने ऊ पनि यस प्रकृतिको अनन्य अङ्ग या हिस्सामध्ये एक सानो भाग मात्र हो । यहाँ ऊसहित असंख्य जीवहरु छन् जोसँग मानिसको अस्तित्व पनि गाँसिएको छ । आज मानव समाजले हासिल गरेको सभ्यता वा विकास मात्र नभई मानव स्वयम्को अस्तित्व नै खतरामा छ ।

समकालीन विश्वका मुख्य वातावरणीय मुद्दाहरु
समकालीन समयमा वातावरण आफैंमा जल्दोबल्दो विषय बनेको छ र यसले विभिन्न मुद्दाहरु पनि उठाएको छ । ती मुद्दाहरुलाई छोटकरीमा यहाँ चर्चा गरिन्छ ः

१. वातावरण आफैं
हाल विश्वमा वातावरण आफैंमा एउटा मुद्दा बनेर उपस्थित भएको छ । यसले विश्वका धेरै राष्ट्र र नेताको ध्यान खिचेको छ । विशेष गरी वातावरणीय विनास र त्यसले मानव सभ्यता र स्वास्थ्यमा पार्ने प्रभावका विषयमा हालका दिनमा विश्वमा बहस हुने गरेको छ । र विनासबाट वातावरणलाई जोगाउनु र बिगि्रएको वातावरणबाट विश्वका प्राणीलाई सुरक्षित राख्नु वर्तमान पुस्ताका लागि चुनौती बनेर आइपुगेको छ ।

२. जलवायु परिवर्तन
हाल विश्वमा धेरै चर्चा हुने कुरा भनेको जलवायु परिवर्तन र यसले सिर्जना गरेको विश्व तापमान वृद्धि हो । यो विषय हाल धेरै विद्वान्का लागि अनुसन्धानको शीर्षक भएको छ राजनीतिक विवादको विषय भएको छ र जनसाधारणलाई चासोको विषय बनेको छ ।  यसै विषयलाई लिएर हालै कोपनहेगनमा कुम्भमेला लाग्यो । कोप १५ नाम दिइएको त्यस मेलामा जलवायु परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्ने अमेरिकालगायत विकसित राष्ट्रहरुले फेरि पनि कार्बनको उत्पादन कम गर्ने र जलवायु परिवर्तनको असर कम गर्नेतर्फ तत्परता देखाएनन् । उनीहरुले आफ्नो पुरानो दादागिरी शैलीलाई निरन्तरता दिँदै सम्मेलनबाट कुनै बाध्यकारी सम्झौता पारित गराउन दिएनन् ।
वायुमण्डलमा हरित ग्याँसको प्रमुख तत्व कार्बनडाइअक्साइडको मात्रा प्रतिवर्ष ०।४ प्रतिशतले वृद्धि भइरहेको छ ।  जलवायु परिवर्तनका कारण समुद्रमा पानीको सतह बढेर समुद्र किनारका राष्ट्रहरु डुब्ने खतरामा पुगेका छन् भने हिमालको हिउँ पग्लिई हिमाली जनजीवन उच्च खतरामा रहेको छ । यसै विषयमा विश्वको ध्यान आकर्षित गर्न माल्दिभ्सले समुद्रमुनि र नेपालले सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक समेत आयोजना गरे ।
जलवायु परिवर्तनको विडम्बनापूर्ण स्थिति के हो भने यसको प्रमुख कारक विकसित मुलुक हुन् भने यसको मारमा सबैभन्दा बढी पर्ने भनेका नेपालजस्ता अविकसित मुलुक हुन् । जलवायु परिवर्तनबाट हुने जोखिमका दृष्टिले नेपाल छैटौं स्थानमा रहेको छ ।

३. बढी जनसंख्या
१९५९ र १९९९ बीचको ४० वर्षमा विश्वको जनसंख्या ३ खर्बबाट दोब्बर बढी ६ खर्ब पुगेको थियो । हालकै वृद्धिदर कायम रहने हो भने सन् २०४० मा विश्वको जनसंख्या ९ खर्ब पुग्नेछ । हाल विश्वमा जनसंख्या प्रतिवर्ष ९ कारोडले वृद्धि भइरहेको छ । यस्तो हुँदा विश्वमा खाना पानी र उर्जाको चरम संकट आउनेछ भने कुपोषण र रोगमा ह्वात्तै वृद्धि हुनेछ । बढी जनसंख्या वातावरण विनासको पनि प्रमुख कारण भएकाले यो वातावरणसम्बन्धी मुख्य मुद्धा बनेर आएको छ ।

४. खानेपानीको संकट 
हाल विश्वमा तीनजनामध्ये एक जनाले शुद्ध खानेपानी पिउन पाएका छैनन् । त्यसकारण यो पनि एक वातावरणीय मुद्दा हो । संयुक्त राष्ट्रसंघका अनुसार ९५ प्रतिशत सहरहरुमा खानेपानी फोहोरबाट मुक्त छैन । खानेपानीका कारणबाट नै धेरै रोगहरु लाग्ने गरेको कुरा सर्वविदितै छ । कम विकसित मुलुकमा प्रत्येक वर्ष ५ वर्ष पनि नपुग्दै ४० लाख बालबच्चाको शुद्ध खानेपानी र सरसफाइको अभाव मात्रको कारणबाट मृत्यु हुन्छ ।

५. तेल वा कोइलाका विरुद्धमा हरित उर्जा
हाल विश्वमा हरित उर्जाको प्रयोगमा निकै वृद्धि भएको छ भलै कोइला र तेलको प्रयोगमा पनि कमी नआएको किन नहोस् । कोइला तथा तेलको बढी प्रयोगकै कारण विश्वमा जलवायु परिवर्तनको समस्या आइरहेकाले पनि हरित उर्जातिर विश्वको ध्यान गएको हो । तर हाल पनि अमेरिकालगायतका देशले बढी उर्जा उपभोग गर्ने राष्ट्रले हरित उर्जातिर ध्यान दिएका छैनन् ।

६. लोपोन्मुख प्रजातिहरु
हाल विश्वमा प्रत्येक २० सेकेन्डमा १ प्रजातिको लोप भइरहेको छ । वैज्ञानिकहरुको भनाइअनुसार प्रत्येक दिन एकसय प्रजातिका वनस्पति पृथ्वीबाट लोप भइरहेका छन् । यदि यस्तै रहने हो भने यो शताब्दिको अन्त्यसम्ममा ५० प्रतिशत जैविक प्रजातिहरु लोप हुनेछन् । लेखक जेफ कर्विनका अनुसार लोपोन्मुख प्रजातिका अङ्गहरुको कालोबजारी विश्वको अवैधानिक बजारको तेस्रो स्थानमा छ । यसले पनि प्रजातिको लोपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
यसैगरी करिब १ सय ७० लाख हेक्टर वन वर्षेनी पृथ्वीबाट विनास भइरहेको छ जुन क्षेत्रफल अष्ट्रिया देशको आकारबराबर छ ।

७. आणविक उर्जा 
आणविक उर्जा पनि विश्वको महत्वपूर्ण वातावरणीय मुद्दा बनेर आएको छ । आणविक होडबाजीमा लागेका देशहरुले आणविक परीक्षण वा युद्धका नाममा वातावरणमा नकारात्मक असर पारिरहेका छन् । आणविक उर्जालाई कार्बनमुक्त उर्जा भनेर प्रचार गरिए पनि यो वातावरणका लागि खतरा नै हो ।

८. अमेरिका तथा चीन
अमेरिका वातावरणीय मुद्धामा एक संवेदनशील समस्या बनेर आएको छ । अमेरिका वातावरण विनास र हरितगृह ग्यास उत्पादनका हिसाबले सबैभन्दा माथिल्लो स्थानमा रहँदै आएको छ । तर आफूलाई बाँकी विश्वभन्दा माथिल्लो स्थानमा राख्दै उसले वातावरण जोगाउने सवालमा र हरितगृह ग्यास उत्सर्जन घटाउने सवालमा दादागिरी देखाउँदै पन्छिने गर्दै आएको छ । क्योटो प्रोटोकलमा हस्ताक्षर नगर्नु कोपनहेगन सम्मेलनलाई बाध्यकारी कानुनबिना नै सम्पन्न गर्न भूमिका निर्वाह गर्नु आदि यसका उदाहरणहरु हुन् ।
विश्वको सवभन्दा बढी जनसंख्या हुने देश हुनुको नाताले त छँदैछ चीनले हालै गरेको औद्योगिक विकास र अमेरिकापछि सबभन्दा बढी हरितगृह ग्यास उत्पादन गर्ने देश भएकाले पनि चीन वातावरणीय मुद्दाको महत्वपूर्ण पाटो हो । यसका साथै चीनले कोप १५ मा ग्रुप ७७ नेतृत्व गरेर पनि अन्त्यमा अमेरिकासँग हात मिलाउन पुगेको थियो ।

९. खाद्यसुरक्षा र रासायनिक प्रदूषण
वातावरणीय विनासको प्रभाव खाद्यसुरक्षामा पनि पर्ने निश्चित छ । यसका साथै विश्वका जनसमुदाय स्वच्छ खानाका लागि संघर्ष गर्नुपर्ने स्थितिमा पुगेका छन् । विभिन्न रासायनिक औषधिको प्रयोगका कारण मानिसले स्वच्छ खानेकुरा पाउन छाडेका छन् र यो विवादको विषय बनेको छ ।
यस विषयको अर्को रोचक तथ्य के हो भने एक अमेरिकनले एक भारतीय नागरिकको दाँजोमा ५२ गुणा बढी मासु मात्र खान्छ । गरिब राष्ट्रको १४ मानिस लाई एक दिनमा जति आहारारखाद्यान्न आवश्यक पर्दछ त्यति आहारारखाद्यान्न विकसित देशको एउटा मानिसलाई मात्र पुग्दछ । एक स्विसले खपत गर्ने वातावरणीय स्रोत एक सोल्भानियालीले खपत गर्ने भन्दा ४० गुणा बढी हुन्छ ।

१०. महामारी
वातावरणीय मुद्दामा हाल आएर बर्ड फ्लु स्वाइन फ्लुजस्ता महामारी पनि जोडिन आइपुगेका छन् । यी रोगहरु फैलिनुको प्रमुख कारण भनेको कारखानामा ती कुखुरा र सुँगुरजस्ता जीवहरुको खेती हुनु भएकोमा धेरै विद्वान्हरु सहमत छन् । त्यसकाराण यसतर्फ पनि विश्वको ध्यान जान थालेको पाइन्छ ।

निष्कर्ष
वातावरण सम्पूर्ण प्राणीजगतको आधार हो । मानिसकै कि्रयाकलापका कारण वातावरणीय विनासका घटना भइरहेका छन् र त्यही कारणले हामी र हाम्रो धर्तीको अस्तित्वमाथि खतरा उत्पन्न भएको छ । जलवायु परिवर्तनलगायत वातावरणीय प्रभावबाट यस धर्तीलाई जोगाउने उपाय भनेको नै वातावरणमाथिको मानिसको अतिक्रमण कम गर्नु हो । तर जसले यस्तो अतिक्रमण बढी गरेका छन् उनीहरु वातावरण जोगाउनपट्टि कम संवेदनशील छन् । वातावरण जोगाउने सवालमा विश्वका सम्पूर्ण जनता तथा देशहरु एक हुनुपर्ने हो । तर पृथ्वीको साझा हितभन्दा आफ्नो राष्ट्रको हितलाई केन्द्रमा राखेर धनी राष्ट्रहरुले सोचिदिँदा यो समस्या झनै बढेर गएको छ ।
वातावरण हाम्रो साझा सम्पत्ति हो । त्यसकारण वातावरण जोगाउनु पनि हामी सबैको कर्तव्य हो । विकसित देशहरु वातावरण संरक्षणका लागि इमानदार नभएको अवस्थामा अब वातावरण संरक्षणको मुद्धामा नेपालजस्ता गरिब मुलुकहरु एक हुनुपर्ने भएको छ । यी देशहरुले विकासको लागि धेरै काम गर्नुपर्ने त छँदैछ वातावरण संरक्षणमा पनि ध्यान दिनुपर्नेछ ।
बिगि्रएको वातावरणले धनी गरिब भनेर छुट्याउँदैन सबैलाई उत्तिकै असर गर्दछ । यस पक्षप्रति सबैले ध्यान दिनु जरुरी छ ।

दश वर्षमा ६ हजार किमी सडक थप


माघ ४, काठमाडौं । आर्थिक वर्ष२०५६/५७ देखि ०६६/६७ को बीचमा मुलुकमा ६ हजार १ सय किलोमिटर रणनीतिक सडक बनेको छ । सडक विभागद्वारा हालै प्रकाशित रणनीतिक सडक सञ्जाल तथ्याङ्कअनुसार अहिले देशभर कुल सडकको लम्बाइ १० हजार ८ सय ३५ किलोमिटर रहेको छ । आव ०५६/५७ मा देशमा कुल ४ हजार ७ सय ९४ किलोमिटर मात्र सडक थियो । नेपालको कुल सडकको लम्बाइ आव ०६१/६२ मा ४ हजार ८ सय ६० पुगेको थियो । तर, त्यसपछिका दुइ वर्षमा यो बढेर ९ हजार ४ सय किलोमिटर पुग्यो । तर, स्थानीयस्तरमा बनेका सडकको लम्बाइ करीब २८ हजार किलोमिटर पुगिसकेको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरियाले बताए । 'देशमा शान्तिप्रक्रिया शुरू भएपछि पूर्वाधार निर्माणको काम तीव्र बनेको हो', उनले भने ।



देश विकासको आधारभूत पूर्वाधार सडक रहेको कुरा देशको राजनीतिक-प्रशासनिक नेतृत्व तथा जनताले समेत महसूस गरेका कारण सडक निर्माणले तीव्रता पाएको राष्ट्रिय योजना आयोग पूर्वाधार विकास महाशाखाका सहसचिव गोपीनाथ मैनालीले बताए । 'आवधिक योजनाहरूमा पनि सडक निर्माणले प्राथमिकता पाएको छ', उनले भने । पछिल्ला दिनमा स्थानीय तह तथा जिल्लाबाट आउने कुल योजनाको मागमध्ये ७५ प्रतिशत सडकका लागि हुने गरेको जानकारी उनले दिए ।

हाल मुलुकमा रहेको कुल सडकमध्ये कालोपत्रे सडक ४ हजार ९ सय ५२ किलोमिटर छ । आव २०५६/५७ मा देशमा कुल २ हजार ९ सय ७४ किलोमिटर मात्र कालोपत्रे सडक थियो । सडक घनत्वका हिसाबले पनि यो अवधिमा निकै प्रगति भएको छ । आव ०५६/५७ मा प्रति १ सय वर्गकिलोमिटर क्षेत्रफलमा ३ दशमलव २२ किलोमिटर सडक घनत्व रहेकोमा हाल यो बढेर ७ दशमलव ३६ पुगेको छ । अहिले देशमा ग्राभेल सडक २ हजार ६५ किलोमिटर छ । धूले सडकको लम्बाइ भने ३ हजार ८ सय १८ किलोमिटर भएको विभागको तथ्याङ्क छ । आव ०५६/५७ मा ग्राभेल सडक १ हजार ६ सय ४९ किलोमिटर थियो भने धूले सडक १ सय ७१ किलोमिटर मात्र थियो ।

देशमा सशस्त्र द्वन्द्व समाप्त भएपछि सडक निर्माणले तीव्रता पाएको सडक विभागका प्रवक्ता विष्णुओम वादेले बताए । 'पछिल्ला वर्षहरूमा सडकका लागि छुट्टयाइने बजेटको अंश बढेकाले पनि सकारात्मक परिणाम आएको हो', उनले भने ।

तर, सशस्त्र द्वन्द्वकै समयमा पनि जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण प्राथमिकतामा राखिएको सहसचिव मैनाली बताउँछन् । 'आर्थिक-सामाजिक रूपमा पछाडि परेका र सडक सुविधा नपुगेका जिल्लाहरूमा द्वन्द्वको प्रभाव बढी देखिएकाले त्यो समस्या समाधान गर्न पनि सदरमुकामसम्म सडक-सञ्जाल जोड्ने कार्यलाई प्राथमिकता दिइएको थियो', उनले भने । यसबाहेक दाताहरूबाट पनि ऋण तथा अनुदानका रूपमा सडकमा लगानी भइरहेको प्रवक्ता वादेले जानकारी दिए । चालू आर्थिक वर्षको सडक निर्माणको क्षेत्रमा कुल २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सहसचिव मैनाली भन्छन्, 'सडक निर्माणका लागि रणनीतिक योजना नै बनेको छ । त्यसअनुसार प्रत्येक वर्ष२० देखि २५ प्रतिशतका दरले सडकमा बजेट बढाउँदै लगिन्छ ।'

विकास क्षेत्रगत हिसाबमा सबैभन्दा धरै मध्यमाञ्चलमा २ हजार ९ सय ७८ किलोमिटर सडक निर्माण भएको छ । सबैभन्दा कम सुदूरपश्चिमाञ्चलमा १ हजार २ सय ५३ किलोमिटर मात्र सडक बनेको सडक विभागको तथ्याङ्क छ । सडक निर्माणका हिसाबले मध्यमाञ्चलपछि क्रमशः पूर्वाञ्चल (२५०८ किमि), मध्यपश्चिमाञ्चल (२१४३ किमी) र पश्चिमाञ्चल (१९६७ किमी) रहेका छन् । अञ्चलगत हिसाबमा सबैभन्दा बढी वागमतीमा १ हजार १ सय ८० किलोमिटर सडक निर्माण भएको छ भने कर्णालीमा सबैभन्दा कम १ सय ९२ किलोमिटर सडक मात्र निर्माण भएको विभागको तथ्याङ्क छ । दोस्रो धेरै सडक निर्माण भएको अञ्चल लुम्बिनी (१००८ किमी) हो भने थोरै भएको धौलागिरि (२४२ किमी) हो ।


चार जिल्ला अझै सडकविहीन

देशमा पछिल्लो समयमा तीव्र रूपमा सडक निर्माण भएको भए पनि अझै मनाङ, डोल्पा, हुम्ला र मुगु जिल्लाका सदरमुकामहरूमा सडक सुविधा पुग्न सकेको छैन । 'तर, मनाङ जिल्लालाई सडकले छोइसकेको छ, यही आर्थिक वर्षमा सदरमुकाममा पनि पुग्छ', सहसचिव मैनालीले भने । चालू आवधिक योजना अवधिभित्र देशका सबै जिल्ला सदरमुकाममा सडक पुगिसक्ने उनले बताए । 'हुम्ला जिल्लामा चीन (तिब्बत) को हिल्साबाट सडक जोड्ने तयारी भइरहेको छ', उनले भने । तर, त्यो सडकको निर्माण सामग्री नेपालबाट लैजान निकै महँगो पर्ने हुन्छ । चीनबाट खरीद गर्नका लागि सार्वजनिक खरीद ऐनअनुसार अप्ठयारो परेकाले त्यो काम अहिले अघि बढ्न नसकेको उनले जानकारी दिए । 'उच्च राजनीतिक तहमा त्यो सडक निर्माणका लागि चीनसँग सहयोग माग्ने कुरा भइरहेकाले त्यो पनि यही आवधिक योजनाभित्र पूरा हुन्छ होला', मैनालीले भने ।
-आर्थिक अभियान दैनिक