जनार्दन बराल
एमाले नाम गरेको पार्टीका पार्टीभन्दा ठूला नेता केपी भनिने खड्गप्रसाद ओलीले विश्वको चमत्कारिक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाए । उनलाई त्यो उपाधि दिने विश्वविद्यालय साह्रै नै चमत्कारिक रहेछ । उसले गर्ने काम विश्वका कुनै पनि अरु विश्वविद्यालयले गर्दैनन् । घरजग्गा शेयर बोण्ड डिबेन्चर ठेकेदारी आदिको कारोबार गर्ने विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्न पनि आफू सुहाउँदो मानिस भेट्टाएछ केपी भनिने खड्गप्रसाद ओली । ठेकेदारी गर्ने विश्वविद्यालयले ओलीको बोलीको सम्मानस्वरुप त्यो उपाधि प्रदान गरेकोमा कसैको दुईमत छैन ।
नेपाली पत्रपत्रिकाले त्यो विश्वविद्यालयलाई नक्कली भनेर प्रचार गरेको गर् यै छन् । यी पत्रकारहरु पनि कुरै नबुझी त्यसै भाको नभाको लेख्छन् । केपी ओलीलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालय पनि कहीँ नक्कली हुन्छ यदि त्यो नक्कली नै रहेछ भने पनि अब सक्कली भयो । किनकि त्यसले केपी ओलीलाई पीएचडी दिइसक्यो ओलीले लिइसके । बनारसमा संस्कृत पढेका झापामा क्रान्ति गरेका चुड्कीको भरमा देशलाई हल्लाउनसक्ने यस्ता दैवी शक्ति भएका ओली पण्डितले कर्मकाण्ड गरिदिइसकेपछि त्यो अब सक्कली भइसक्यो । यस्तो गाँठी कुरो खै यी पत्रकारहरुले बुझेको
फेरि यो शेयर र घरजग्गाको कारोबार गर्ने विश्वविद्यालयले मान्छे पनि छानेरै उपाधि दिएको हो । ओलीजत्तिको ठूलो नेता कहाँ छन् यो दशदुनियाँमा उनले चाह्यो भने सरकार बन्छ । उनले चाह्यो भने सरकार बन्दैन । उनले चाह्यो भने सरकार ढल्छ उनले चाह्यो भने सरकार ढल्दैन । उनले चाहे माओवादी र एमालेको सरकार ढालिदिए । उनले चाहे माधव नेपालको सरकार बनाइदिए । फेरि उनैले चाहेर १३ महिना सरकार चलाई दिए । आफूले नचाहेरै सरकारले राजीनामा दिएपछि उनी केही समय तिल्ििमलाए । अनि अहिलेसम्म उनैले नचाहेका कारण नयाँ सरकार बन्न सकेको छैन । अमेरिकामा घरजग्गा र शेयरको कारोबार गर्ने चामत्कारिक विश्वविद्यालयले यस्ता चमत्कारी नेतालाई विद्यावारिधि नदिएर कसले दिन्छ छ मान्छेहरु त्यसै कुरै नबुझी लेख्छन् भन्या ।
मह जोडीलाई त्यसरी विद्यावारिधिको उपाधि पाउने योग्यता नै पुगेको थिएन । योग्यतै नपुगी विचराहरु फुत्त उपाधि थाप्न गए पछुताउनुपर् यो । अहिलेसम्म महजोडीले काम गरेर खाइरहेको छ । कसैलाई ढाँटछल गरेको छैन । सबैले उनीहरुलाई राम्रो भन्छन् । देशका जनतालाई एकताको सूत्रमा बाँध्न उनीहरुले बनाउने सन्देशमूलक विज्ञापनहरु धेरैले मन पराउँछन् । उनीहरुले बनाउने हास्यशृङ्खला मन नपराउने कोही हुँदैनन् । त्यो उपाधि पाउन त ढाँट्नुपर्छ छल्नुपर्छ तिकडम गर्नुपर्छ । त्यस्तो केही नगरी विद्यावारिधि दिनेबित्तिकै थाप्न गएपछि पछुताउनुपदैन त