नेपालबाट वर्षेनी लाखौँको सङ्ख्यामा युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिइरहेका छन् । नेपालबाट भारतबाहेकका देशमा वार्षिक ३ लाखको हाराहारीमा युवाहरु रोजगारीका लागि विदेशिने गरेको सरकारी तथ्याङ्क छ । त्योभन्दा ठूलो सङ्ख्या भारत पस्ने अनुमान छ । देशमा रोजगारीको सिर्जना हुन नसक्दा विदेशिनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । वैदेशिक शिक्षाका नाममा विदेशिनेको सङ्ख्या पनि निकै ठूलो छ । राज्यले पनि श्रमशक्ति निर्यातलाई आफ्नो मूलमन्त्र मानेको छ । उसले वैदेशिक रोजगारीलाई तुलनात्मक लाभका क्षेत्रमा राखेको छ । तर युवाशक्तिलाई विदेशका कारखानाहरुमा सस्तोमा बेचेर देशको विकास सम्भव छैन । राज्यले युवाशक्तिलाई बेच्ने उल्टो बुद्धि सच्याएर देशभित्रै ठूलो मात्रामा रोजगारी सिर्जना गराउनेतर्फ लाग्नुपर्छ ।
नेपालमा प्रत्येक वर्ष ४ लाखको सङ्ख्यामा काम गर्नसक्ने जनशक्ति उत्पादन हुने गर्छ । तर देशभित्र वार्षिक १ लाखको सङ्ख्यामा पनि रोजगारी सिर्जना हुन सकेको छैन । यस्तो अवस्थामा बेरोजगार जनशक्ति बाहिरी देशमा गइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव ०६६÷६७ मा कुल २ लाख ९४ हजार ९४ जना वैदेशिक रोजगारीका लागि भारतबाहेकका देशमा गएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७६ हजार ९ सय ३० ले बढी हो । हाल दैनिक ८ सय ६ जना रोजगारीका लागि नेपालबाट बाहिरिरहेका छन् । हाल कुल ३० लाख युवा रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेको तथ्याङ्क छ । तर दुर्भाग्य के छ भने वैदेशिक रोजगारमा जाने मध्ये सयमा एकजनाले विदेशी भूमिमा ज्यान गुमाउँछन् । यस अनुसार दैनिक ८ जनाभन्दा बढी वैदेशिक रोजगारीमा जानेका आफन्त उनीहरुको लास बुभुन बाध्य छन् । यो मानवीय पक्षलाई पनि कसैले ध्यान दिन सकेको छैन ।
गत आव ०६६÷६७ मा देशको कुल गार्हस्थ उत्पादनको करीब २१ प्रतिशत विप्रेषण भित्रिएको थियो । नेपालमा वार्षिक रुपमा भित्रने विप्रेषण लगभग देशको बजेटको हाराहरीकै अङ्कमा हुने गर्छ । आव ०६५÷६६ मा २ खर्ब ९ अर्ब ७० करोड विप्रेषण भित्रिएको थियो । त्यस्तै ०६६÷६७ मा २ खर्ब ३१ अर्ब ७३ करोड विप्रेषण भित्रियो । देशको व्यापार घाटा ३ खर्ब १५ अर्ब रहेको सन्दर्भमा भुक्तानी सन्तुलनलाई धेरै नकारात्मक हुन नदिनका लागि नेपालमा भित्रने विप्रेषणले महत्वपूर्ण योगदान दिइरहेको छ । यसै कारण केही अर्थशास्त्रीहरु देशको अर्थतन्त्रलाई विप्रेषणले धानेको छ भन्ने रटान लगाउँछन् । त्यही रटानको प्रभावस्वरुप राज्यले वैदेशिक रोजगारलाई तुलनात्मक लाभका क्षेत्रमा राखेको हुनसक्छ । तर यसरी वार्षिक रुपमा ठूलो मात्रामा भित्रने विप्रेषण आन्तरिक अर्थतन्त्रको विस्तार तथा उत्पानशील क्षेत्रमा लगानी भएको छ कि छैन त्यसको उत्तर उनीहरुले दिनुपर्छ । त्यसरी भित्रिएको विप्रषणले कति उद्योग खुले र कति रोजगारी सिर्जना हुनसक्यो त्यसको पनि हिसाब किताब हुन आवश्यक छ ।
विगत एक दशकको अवधिमा मात्र सङ्गठित क्षेत्रमा स्थापित ६ सयभन्दा बढी उद्योग बन्द भए । त्यस्तो हुँदा त्यहाँ कार्यरत २ लाख कामदारले रोजगारी गुमाए । देशमा औद्योगीकरणका लागि वातावरण बन्न सकेको छैन । ठूलो मात्रामा रोजगारी सिर्जना हुने गरी न त पूर्वाधार निर्माणका काम हुन सकेका छन् न त उद्योग व्यवसाय नै खुलेका छन् । देशको कुल जनसङ्ख्याको करीब ३८ दशमलब ८ प्रतिशत बेरोजगार वा अद्र्धबेरोजगार रहेको सरकारी तथ्याङ्क छ । नेपालको श्रम बजारमा वार्षिक ४ लाख व्यक्ति प्रवेश गर्दछन् । यस्तो अवस्थामा वैदेशिक रोजगारी नै रोजगारीको एक मात्र विकल्प हो भन्ने लाग्नसक्छ । तर देशको दीर्घकालीन विकासका लागि देशभित्रै रोजगारीको सिर्जना हुनुपर्छ । देशभित्र औद्योगीकरण र पूर्वाधार निर्माणको काम भए यहाँ रोजगारीको सिर्जना हुन्छ । र देशका युवाको पाखुरी देशकै विकासका लागि प्रयोग भयो भने मात्र नयाँ नेपालको परिकल्पना साकार हुनसक्छ ।
अहिले विदेशमा काम गरिरहेका लाखौँ युवाहरुलाई देशभित्रै उत्पादनमूलक क्षेत्रमा फर्काउने चुनौती हाम्रासामु छ । किनभने योग्य र सक्षम युवाको निर्यात गरेर देशको विकास सम्भव छैन । देशका युवाशक्तिलाई देशभित्रै काम लगाउनसके मात्र देशको सर्वाङ्गीण विकास सम्भव हुन्छ । त्यसका लागि देशमा तीव्र गतिमा औद्योगीकरण र पूर्वाधार निर्माणको काम हुन जरुरी छ ।
अहिले नेपाल इतिहासको गम्भीर मोडमा छ । यस्तो अवस्थामा हामीले भोलिको औद्योगिक विकासका लागि स्पष्ट निशानिर्देश गर्नु जरुरी छ । द्वन्द्व तथा अन्य विभिन्न कारणले बन्द भएका उद्योगहरुलाई पुनः साचालनमा ल्याउन सक्दा मात्रै पनि देशले औद्योगीकरणका क्षेत्रमा ठूलो फड्को मार्नसक्छ । यसबाट देशभित्रै ठूलो मात्रामा रोजगारीको सिर्जना पनि हुन्छ । बाहिरी लगानी देशभित्र भित्र्याउन सक्ने वातावरणको सिर्जना हुनसक्दा देशमा अझै धेरै रोजगारीको सिर्जना गर्न सकिन्छ । त्यसतर्फ नीति निर्माताहरुले सोच्नुपर्ने बेला भएको छ ।
पूर्वाधार निर्माणका क्षेत्रमा हामी अत्यन्तै नाजूक अवस्थामा छौँ । अझै पनि देशमा सबै जिल्ला सदरमुकामहरुमा मोटरबाटो पुग्न सकेको छैन । जलस्रोतमा अपार सम्भावना भएर पनि त्यसको विकास हुन सकेको छैन । सिँचाइका क्षेत्रमा पनि उल्लेखनीय काम हुन सकेको छैन । त्यसकारण देशमा पूर्वाधार विकासका लागि ठूलो लगानी हुन अत्यावश्यक छ । तर त्यसका लागि हामीसँग पर्याप्त पुँजी छैन । त्यसैले पूर्वाधार निर्माणमा देशको श्रमशक्तिलाई लगाउनुपर्छ । त्यस अनुसार श्रममूलक नीति निर्माण हुने हो र पूर्वाधार निर्माणलाई तीव्रता दिइने हो भने नेपालको बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।
वास्तवमा हाम्रो शिक्षा प्रणालीले नै युवाहरुलाई निस्क्रिय बनाएको छ । भारतलाई उपनिवेश बनाउनुअघि लर्ड म्याकौलेले त्यहाँ लागू गराएको शिक्षाप्रणालीको फोटोकपी हामीले लागू गरिरहेका छौँ । यो शिक्षा प्रणालीले हाम्रा परम्परागत कला र सीपलाई मारिदिएको छ भने नयाँ कुरा केही सिकाएको छैन । श्रम गर्न हीनताबोध गराउने शिक्षाप्रणाली हामीले लागू गराइरहेका छौँ । एउटा एसएलसी पास गरेको व्यक्ति हलो जोत्न तयार हुँदैन किनभने उसले पढेको छ । त्यसले न त अन्य कुनै सीप नै जानेको हुन्छ । अनि ऊ कि त बेरोजगार नै बस्नुपर्छ कि त भेडा चराउने कामका लागि विदेशिनुपर्छ । हाम्रोमा पढेपछि जागीर खानुपर्छ भन्ने मानसिकता व्याप्त छ । यो जागीरमोहको मानसिकता निर्माणमा पनि यही शिक्षा प्रणालीको योगदान छ । त्यसैले जबसम्म हामी श्रमको सम्मान नगर्ने शिक्षा प्रणाली अवलम्बन गर्छौं तबसम्म देशभित्र विकासको लहर सिर्जना हुनु सपना मात्र हुनेछ । विदेशमा रोजगारी गरेर फर्केका मानिसले काम त देशमै गर्नुपर्ने रहेछ काम लागि यहीँ स्वर्ग रहेछ भनेको हामीले प्रशस्तै सुनेका छौँ ।
सबैभन्दा महत्वपूर्ण विषय युवाहरुको देशप्रति अपनत्वभाव सिर्जना गर्नु हो । अहिलेका युवाहरुमा नेपालमा बसेर केही गर्न सकिँदैन भन्ने भावना व्याप्त छ । युवाहरुमा देशभित्रै केही गर्न सकिने विश्वास दिलाउन सक्ने र त्यस अनुसारको अवसर सिर्जना गर्नसक्ने हो भने निश्चय पनि देशका युवाहरु यहीँ बस्नेछन् । जापानको विकास कोही विदेशीले गरिदिएका होइनन् मलेसियालीहरुकै प्रयासमा मलेसिया आजको अवस्थामा आइपुगेको हो । यो कुरा देशका युवाहरुले र विशेषगरी नीति निर्माताहरुले बुझ्न आवश्यक छ । आफ्ना खेतबारी बाँझै छाडेर अरब भूमिमा भेडा चराउन जानु कसैको रहर होइन । तर आफ्नो माटोलाई कसरी लाभको काममा लगाउन सकिन्छ भन्ने थाहा नभएर युवाहरु विदेशिइरहेका छन् । यदि आफ्नै माटोमा सुन फलाउने उत्प्रेरणा र वातावरण राज्यले मिलाइदिने हो भने निश्चय पनि देशका युवाहरु राष्ट्रनिर्माणमा लाग्ने छन् । यहाँबाट विदेशिने नेपाली युवाको औसत कमाइ १५-१६ हजार रुपैयाँ हुन्छ । यदि देशभित्रै मासिक ८-१० हजार कमाउने अवसर पाउने हो भने कोही पनि बाहिर जाँदैनन् ।
आर्थिक अभियान दैनिक
२०६७ मंसिर ४